२०२४ अप्रिलमा नेपालमा पहिलो पटक शुरु गरिएको “करियर विकास कार्यक्रम” ले एक वर्षको अवधिमा नेपाल र जापान दुबै स्थानमा सयौं विद्यार्थीहरूलाई सिकाइको अवसर प्रदान गरेको छ।
यस परियोजना अन्तर्गत सञ्चालन भइरहेको “करियर विकास कार्यक्रम” को उद्देश्य जापानमा रोजगारीका लागि जाने नेपाली विद्यार्थीहरूलाई करियरका विविध विकल्पहरूबारे अवगत गराउने र उनीहरूलाई भविष्यको करियर दृष्टिकोण स्पष्ट रूपमा बनाउन सहयोग पुर्याउने हो। यो कार्यक्रम नेपालका जापानी भाषा विद्यालयहरूमा अध्ययनरत र भविष्यमा जापान जाने तयारीमा रहेका विद्यार्थीहरू, साथै जापानमा जापानी भाषा विद्यालय, प्राविधिक विद्यालय वा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू सबैका लागि लक्षित गरिएको छ।
नेपालमा २०२५ मेई महिनासम्म काठमाडौं, बागलुङ, बुटवल, हेटौंडा, नवलपरासी, चितवन, कावासोती र झापा लगायतका विभिन्न क्षेत्रका जापानी भाषा विद्यालयहरूमा जम्मा ४३ पटक करियर विकास कार्यक्रमहरू सञ्चालन गरियो। कार्यक्रममा जापानमा बसोबास र कार्यानुभव प्राप्त गरिसकेका तालिम प्राप्त प्रशिक्षकहरूले कक्षा सञ्चालन गरे र करिब ८४० जना विद्यार्थीहरूले जापान जाने तयारीका रुपमा कार्यक्रममा भाग लिए। नेपालमा अझै पनि विद्यालय स्तरमा “करियर शिक्षा” सामान्य रूपमा प्रचलित नभएको अवस्थामा, विद्यार्थीहरूले पहिलो पटक “करियर पथ” भन्ने अवधारणाबारे सुन्न पाए। दुई दिनको तालिममार्फत उनीहरूले भविष्यमा स्थायी करियर निर्माण गर्न आवश्यक सोच, मनोवृत्ति र तयारीबारे सिके र आफ्ना आगामी कार्ययोजना तयार पारे। सहभागी विद्यार्थीहरूले “जापान जानु अघि यो कार्यक्रम लिन पाउनु राम्रो भयो”, “जापान पुगेपछि कसरी जीवनयापन गर्ने भन्ने सिक्न पाएँ”, “अझ राम्रोसँग पढ्नुपर्ने प्रेरणा मिल्यो” जस्ता प्रतिक्रिया व्यक्त गरे।
जापानमा पनि २०२४ जुन महिनाबाट सुरु भई २०२५ मेइसम्म कान्तो, क्युस्यु र ओकिनावा क्षेत्रमा रहेका ७ विद्यालय र १ संस्थामा गरी जम्मा १८ पटक करियर विकास कार्यक्रम सञ्चालन गरियो। ती मध्ये ४ पटक भने, पहिले करियर बिकास कार्यक्रममा भाग लिएका विद्यार्थीहरूलाई लक्षित आगामी करियर मार्गतर्फ सचेतना बढाउन “फलो-अप तालिम” को रूपमा आयोजना गरिएको थियो। यी कार्यक्रमहरूमा सहभागी विद्यार्थीहरूको संख्या १,१०० जना भन्दा बढी पुगेको छ। सहभागीहरूले “आवश्यक ज्ञान र सीप कसरी प्राप्त गर्ने भन्ने सिक्न पाएँ”, “लक्ष्य हासिल गर्न आवश्यक सीप पार्ट-टाइम कामबाट पनि सिक्न सकिन्छ भन्ने थाहा पाएँ”, “दैनिक रूपमा जापानी सेवा अझै ध्यान दिएर अवलोकन गर्न थालेँ” जस्ता प्रतिक्रिया व्यक्त गरे। साथै, विद्यालयका प्रतिनिधिहरूले पनि “विद्यार्थीहरू सधैंभन्दा बढी सक्रिय र उत्साहित देखिए”, “उनीहरू भविष्यका योजनाबारे कसरी सोचिरहेका छन् भन्ने बुझ्न सकियो” भन्ने सकारात्मक प्रतिक्रिया दिएका थिए।
आगामी दिनहरूमा पनि यो कार्यक्रम नेपाल र जापान दुवै देशमा निरन्तर सञ्चालन गरिँदै जानेछ। यस कार्यक्रम मार्फत अझ धेरै नेपाली विद्यार्थीहरूलाई आफ्नो करियर निर्माणमा सशक्त बनाइ भविष्यमा नेपालको औद्योगिक विकासमा योगदान गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

जापान यूनिभर्सिटी अफ इकोनोमिक्समा गरिएको क्लास सञ्चालनको दृश्य