“पोखराको भगिनी शहर कोमागानेका उद्योग र कम्पनीहरूको अध्ययन गर्ने स्टडी टुर” आयोजना गरियो !

२०२५ मेइ १७ (शनिबार) का दिन जापानको नागानो प्रिफेक्चरको कोमागाने शहरमा अध्ययन भ्रमण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा विद्यार्थी तथा डिपेन्डेण्ट आदिमा रही नागानोमा बसोबास गर्ने ११ जना नेपालीहरू सहभागी भएका थिए। यस शहरमा JICA कोमागाने विदेश सहयोग स्वयम्‌सेवक तालिम केन्द्र समेत अवस्थित भएको कारणले, नेपालप्रति आत्मीय भावना र विभिन्न क्षेत्रमा आदानप्रदानको लामो इतिहास रहेको छ।
सहभागीहरूले कोमागाने नगरपालिकाको सहयोगमा, चक्रिय (सर्कुलर) कृषि प्रणालीमार्फत बुनाशिमेजी (च्याउ) र ब्रान्ड प्याज उत्पादन गरी शहरी क्षेत्रमा वितरण गर्ने “अग्रिको” कम्पनी तथा करिब ३,००० मिटर उचाइमा अवस्थित दक्षिण आल्प्स क्षेत्रका ट्रेकिङ्ग आवश्यकतालाई पूरा गर्ने रोपवे, बस, होटललगायत पर्यटन पूर्वाधार सेवा प्रदान गर्ने “चूओ आल्प्स कङ्को” कम्पनीको भ्रमण गरे। यसमार्फत सहभागीहरूले कृषि र पर्यटन व्यवसायको वास्तविक स्थिति,साथै सो क्षेत्रमा रोजगारीको अवस्थाका बारे प्रत्यक्ष अवलोकन गर्ने अवसर पाए।
त्यसैगरी, उनिहरूले कोमागाने पर्यटन संघले सञ्चालन गरेको रोड स्टेशनका पसल “कोमागाने फार्मस” भ्रमण गर्नुका साथै, यहाँ बसोबास गर्ने नेपालीद्वारा सञ्चालित रेस्टुरेन्ट तथा “नेपाल लाइब्रेरी” मा कोमागानेका स्थानीय नागरिकहरूसँग भेटघाट गरी आपसी समझदारी र मित्रता थप मजबुत बनाए।

केही सहभागीहरूले ५ देखि १० वर्षसम्म जापानमा बसेर कामको अनुभव हासिल गरी भविष्यमा नेपाल फर्किएर त्यसको उपयोग गर्दै काम तथा उद्यम गर्ने चाहना व्यक्त गरे। उनीहरूले “बुनाशिमेजी च्याउ उत्पादन प्रक्रियाको कार्यक्षमता, स्वच्छता, तापक्रम र गुणस्तर व्यवस्थापन प्रभावशाली लाग्यो”, “सर्कुलर कृषि महत्त्वपूर्ण छ भन्ने बुझाइ बढ्यो”, “ट्रेकिङ्गसँग सम्बन्धित पर्यटन सेवाको वास्तविकता र यस सम्वन्धि काम बारे प्रष्ट बुझ्न सकियो” जस्ता प्रतिकृया दिएका थिए। यस अध्ययन भ्रमणले सहभागीहरूलाई नयाँ ज्ञान र प्रेरणा दिनुका साथै कोमागाने शहरमा रोजगारीका अवसरप्रति विद्यार्थीहरूको चासो पनि बढेको अनुभूति गरायो।

अग्रिको कम्पनीको मिटिङ हलमा गरिएको प्रस्तुति

कोमागाने नगर प्रतिनिधिहरूसँगको अन्तरक्रिया

Scroll to Top